विद्यालय स्वास्थ्य र दिवा खाजा व्यवस्थापन सम्बन्धी २ दिने प्रशिक्षण सुरु

बैतडी-बैतडीको मेलौली नगरपालिकाको आयोजनामा विद्यालय स्वास्थ्य तथा दिवा खाजा व्यवस्थापनलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

मेलौली नगरपालिकाको सभा हलमा शुक्रबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम भोली शनिबार सामान हुनेछ। कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य, सरसफाइ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन, सुरक्षित खाद्य सामग्रीको प्रयोग, स्वच्छ खाना पकाउने तथा वितरण गर्ने विधि, विद्यालयमा स्वास्थ्य प्रवर्द्धनका उपाय लगायतका विषयमा सहजीकरण गरिने शिक्षा शाखा प्रमुख मनु क्षेत्रीले बताउनुभयो।

नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस प्रशिक्षणमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, दिवा खाजा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको छ। 

कार्यक्रमको उद्देश्य विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र पोषणमैत्री बनाउनुका साथै विद्यार्थीहरूको स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुर्‍याउनु रहेको आयोजना शिक्षा शाखा प्रमुख क्षेत्रीले बताउनुभयो।

प्रशिक्षणबाट सहभागीहरूले विद्यालय स्वास्थ्य र पोषणसम्बन्धी व्यवहारिक ज्ञान तथा सीप हासिल गर्ने, जसले विद्यालयमा प्रभावकारी रूपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न तथा विद्यार्थीहरूको स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको क्षेत्रीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.