बैतडीः डोटीको एक होटलमा कञ्चनपुरका युवक मृत फेला परेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा डोटीमा मृत अवस्थामा फेला परेका हुुन्। थापा डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित रेनुका होटलको कोठा नम्बर २०४ मा शनिबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुरले बताएका छन्।
उनका अनुसार बिहीबार दिउँसो कञ्चनपुरबाट चालकसहित १३ जना सवार रहेको सु–प–प्र०२–००१ ख १३२८ नम्बरको हाइसमा चढेर थापा डोटी घुम्न गएका थिए। राति करिब साढे ९ बजे उनीहरू गैरास्थित रेनुका होटल पुगेका थिए।
थापा सोही होटलको कोठा नम्बर २०४ मा हाइस चालक, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ गंगालाल चोकका ३९ वर्षीय बसन्तबहादुर सिंहसँगै सुतेका थिए। बिहान सवा ६ बजे उठेर हेर्दा सिंहले थापालाई ओछ्यानमै उत्तानो अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।
सूचना प्राप्त भएपछि प्रहरी चौकी घण्टेश्वरबाट टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विपिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।