बैतडी-बैतडीको मेलौली नगरपालिका–९ जोड्ने निर्माणाधीन सडकको काममा भइरहेको अवरोध हटाउन माग गर्दै स्थानीय सडक उपभोक्ता तथा लाभग्राहीहरूले सोमबारदेखि मेलौली नगरपालिकाको कार्यालय अगाडि अनिश्चितकालीन आमरण अनशनसहित धर्ना सुरु गरेका छन्।
नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सडक डिभिजन कार्यालय पाटनमार्फत निर्माण भइरहेको तिनजोर्ना–हरडाखान–कान्तिपुर हुँदै मेलौली नगरपालिका–९ को वडा कार्यालय तथा विशालपुर स्वास्थ्य चौकी जोड्ने सडक निर्माणमा अवरोध भएको भन्दै आन्दोलन सुरु गरिएको हो। सोमबार दिउँसोदेखि वडा नं। ९ का वडा सदस्य जनकराज भट्ट र स्थानीय भीमदत्त भट्ट नगरपालिकाको कार्यालय अगाडि आमरण अनशनमा बसेका छन्।
आन्दोलनरत पक्षले वडा नं। ९ का अध्यक्ष लोकराज भट्टसहित केही जनप्रतिनिधिले सडक निर्माण कार्यमा अवरोध सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले सडक निर्माण कार्य तत्काल सुचारु गर्न, विकास निर्माणमा देखिएको अवरोध अन्त्य गर्न तथा स्थानीय नागरिकको सहज आवागमनको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
अनशनमा बसेका भट्टद्वयले कार्यवाहक नगर प्रमुख तपेन्द्र बिष्ट र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भइरहेको अवरोध तत्काल हटाउन माग गरेका छन्। ज्ञापनपत्रमा तीन दिनभित्र सडक निर्माण कार्य सुचारु गराउन आवश्यक पहल नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगर प्रमुख बिष्टले यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग सहजीकरणका लागि आग्रह गरिएको र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी समस्या समाधानका लागि पहल गरिने बताएका छन्। यता, सडक निर्माण भइरहेको क्षेत्रभित्र पर्ने असुरमौजा सामुदायिक वनले भने वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्पन्न गरेर मात्रै सडक निर्माण अघि बढाउनुपर्ने माग गर्दै डिभिजन वन कार्यालयमा निवेदन दिएको जनाएको छ। सोही विषयलाई लिएर सडक निर्माण कार्य प्रभावित भएको बताइएको छ।
डिभिजन कार्यालयले स्थानीयको माग र प्रक्रियागत ढंगले सडक अघि बढाउनु पर्ने आफ्नो धारणा रहेको वडा न ९ का वडा अध्यक्ष लोगराज भट्टले बताए । सडक डिभिजन कार्यालय पाटनमार्फत निर्माण भइरहेको उक्त सडकका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।