मेलौलीका मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

बैतडीको मेलौली नगरपालिकाका ९ वटै वडामा कार्यरत मेलमिलापकर्ताहरूका लागि आयोजित दुई दिने पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मेलौली नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक पार्वती बोहरा बिष्टको अध्यक्षतामा तालिम सम्पन्न भएको हो। समापन कार्यक्रममा नगरप्रमुख भीमबहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा तथा प्रशिक्षक एवं अधिवक्ता हरिदत्त भट्टको विशेष आतिथ्य रहेको न्यायिक समिति उजुरी प्रशासक महेन्द्रसिंह नायकले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूलाई स्थानीय तहको न्यायिक समितिमार्फत मेलमिलाप गर्न सकिने विवादका प्रकार, कानुनी प्रक्रिया, मेलमिलापका सिद्धान्त, व्यवहारिक सीप तथा प्रभावकारी विवाद व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै न्यायिक समिति संयोजक पार्वती बोहरा बिष्टले वडा तहमा हुने सामान्य प्रकृतिका विवादहरू स्थानीय स्तरमै मेलमिलापका माध्यमबाट समाधान गर्न सक्ने दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर नागरिकलाई सहज, छिटो प्रभावकारी न्याय सेवा प्रदान गर्न मेलमिलापकर्ताहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको न्यायिक समिति संयाेजक बिष्टले बताउनुभयो। नगरप्रमुख भीमबहादुर चन्दले स्थानीय तहमा मेलमिलापको संस्कृतिलाई थप मजबुत बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताउँदै समुदायमा आपसी सद्भाव, सहकार्य र सामाजिक एकता कायम गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा मेलौली नगरपालिकाका ९ वटै वडाका मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपलब्धिमूलक रहेको प्रतिक्रिया दिँदै सिकेका ज्ञान र सीपलाई समुदायस्तरमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.