बैतडी: दलित समुदायमा वैदिक संस्कारलाई प्रवद्र्धन गर्न कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्तलाई पुर्चाैडी नगरपालिकाले सम्मान गरेको छ। जन्मदेखि मृत्युसम्मका वैदिक हिन्दु सनातनी संस्कारलाई दलित समुदायमा पु¥याउँदै आएका पन्तलाई नगरपालिकाले दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरेको हो।
जातीय आधारमा हुने सामाजिक विभेदविरुद्ध रचनात्मक तरिकाबाट योगदान गर्दै आएका पन्तलाई नगरपालिकाले सम्मानित गर्दै दोसल्ला तथा सम्मानपत्र प्रदान गरेको नगरप्रमुख दीपकबहादुुर बमले बताए। सामाजिक परिवर्तनमा लागिरहेका व्यक्तिहरूलाई उत्साह र हौसला बढाउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै पन्तलाई सम्मान गरिएको नगरप्रमुख बमले जानकारी दिए।
पन्तले विगत लामो समयदेखि दलित समुदायलगायत समाजका सबै वर्गले आायोजना गर्ने वैदिक संस्कारहरूमा सहभागी हुँदै पु¥याइरहेको योगदान प्रभावकारी र प्रेरणादायी रहेको स्थानीयले बताएका छन्। पन्तको कामले जातीय विभेद अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेको स्थानीय शिक्षक दिनेश नागरीले बताए।
सम्मान कार्यक्रममा नगरप्रमुख बम, उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली, नगर प्रवक्ता धीरेन्द्र बमलगायतका जनप्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। बैतडीको पाटन नगरपालिका– ८, खोड्पे जसुलीखालीका पण्डित पन्तले २७ वर्ष अघिदेखि दलित बस्तीमा कर्मकाण्ड सुरु गरेका हुन्। उनले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारान, वास्तुपूजा, गृहप्रवेशलगायत कार्यहरू गर्दै आएका छन्।
उनले सांस्कृतिक कुरीति हटाउन दमाईं, कामी, बादीलगायतको समुदायमा एक हजार ६ सय जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको बताए। जातीय आधारमा हुने सामाजिक विभेद कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उनको जोड छ।