मेलौलीमा महिला स्वास्थ्य स्वयंसेविकालाई औलो रोगबारे अभिमुखीकरण

बैतडीको मेलौलीमा रहेको तल्लो स्वराड क्षेत्रकै रेफरल सेन्टर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई औलो (मलेरिया) रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

मेलौली नगरपालिका वडा नम्बर १, ६ र ७ का सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई औलो रोगको पहिचान, रोकथाम, नियन्त्रण, समयमै परीक्षण तथा उपचारका विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको केन्द्रका जनस्वास्थ्य निरीक्षक एवं कार्यालय प्रमुख मुकेशकान्त दयालले बताउनुभयो। कार्यक्रममा औलो रोग कसरी सर्छ, यसका लक्षणहरू, लामखुट्टेको टोकाइबाट कसरी बच्ने, घर तथा समुदायमा अपनाउनुपर्ने सावधानी, शंकास्पद बिरामीको समयमै परीक्षण गराउने तथा आवश्यक परे स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा सहजीकरण गरिएको थियो।

कार्यालय प्रमुख दयालले समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले औलो रोगको जोखिम न्यूनीकरण तथा रोग नियन्त्रणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

स्वास्थ्यकर्मीहरूले वर्षायाममा लामखुट्टेको प्रजनन बढ्ने भएकाले झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने तथा ज्वरो आएमा हेलचेक्र्याइँ नगरी स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्। स्वास्थ्य केन्द्रले आगामी दिनमा पनि विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.