मेलौलीको सडक विवाद टुंगियो, अनशनकारीले तोडे अनशन

बैतडी: निर्माणाधीन तिनजोर्ना–हरडाखान–कान्तिपुर हुँदै मेलौली नगरपालिका–९ को वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नति कार्यको अवरोध हटाउने सहमतिसँगै आमरण अनशन अन्त्य भएको छ।

संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय पाटन बैतडीमार्फत आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भई निर्माणाधीन रहेको उक्त सडकको काम अवरुद्ध भएपछि स्थानीय उपभोक्ता भीमदत्त भट्ट र जनकराज भट्टले असार १५ गतेदेखि मेलौली नगरपालिकाको कार्यालय परिसरमा आमरण अनशन सुरु गरेका थिए। उनीहरूले वडा नं. ९ का वडाध्यक्ष लोकराज भट्टका कारण सडक निर्माण कार्य रोकिएको भन्दै तत्काल निर्माण कार्य अघि बढाउन माग गरेका थिए।

अनशनरत पक्षसँग मंगलबार मेलौली नगरपालिकामा भएको वार्तापछि सहमति जुटेको हो। मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाको विशेष उपस्थितिमा बसेको बैठकले असार १८ गतेदेखि सडक डिभिजन कार्यालय पाटनले निर्माण कार्य कुनै अवरोधबिना पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकको निर्णयअनुसार सडक निर्माणका क्रममा फेरि कुनै अवरोध सिर्जना भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था मिलाई निर्माण कार्यलाई निरन्तरता दिनेछ। यही प्रतिबद्धतापछि अनशनरत भीमदत्त भट्ट र जनकराज भट्टले असार १७ गतेदेखि आफ्नो आमरण अनशन समाप्त गर्ने निर्णय गरेका हुन्।

वार्तामा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सडक डिभिजन कार्यालय पाटनका इन्जिनियर, इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख, इलाका प्रहरी कार्यालय मेलौलीका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख, पत्रकार र स्थानीय बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो। सडक निर्माण लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए। अब सहमतिअनुसार निर्माण कार्य सुचारु हुने भएपछि स्थानीयमा सडक समयमै सम्पन्न हुने अपेक्षा बढेको छ।

Leave A Reply

Your email address will not be published.