मेलौलीमा १५ दिने चुरा–पोते बनाउने सीप विकास तालिम सम्पन्न

बैतडी। मेलौली नगरपालिकाको आयोजनामा सञ्चालित १५ दिने चुरा–पोते बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सञ्चालन गरिएको तालिम समापन कार्यक्रम मेलौली गरपालिकाकी उपप्रमुख पार्वती बोहरा बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नगरप्रमुख भीम बहादुर चन्द प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चन्दले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

उहाँले नगरपालिकाले सीपमूलक तालिममार्फत स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।उपप्रमुख पार्वती बोहरा बिष्टले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम प्रभावकारी रहेको बताउँदै सिकेको ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।

विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले तालिमबाट प्राप्त सीपलाई सदुपयोग गर्दै स्थानीय स्तरमै उद्यम सञ्चालन गर्न सके आर्थिक अवस्था सुधारका साथै रोजगारी सिर्जनामा समेत टेवा पुग्ने धारणा राख्नुभयो।

१५ दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले चुरा–पोते निर्माणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। तालिमले स्थानीय स्तरमा साना उद्यम स्थापना गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई सहयोग पुग्ने विश्वास आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.