मेलौलीमा महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीका लागि ३ दिने अभिमुखीकरण सम्पन्न

पोषण तथा स्वास्थ्यकर व्यवहार परिवर्तन मार्फत समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य

बैतडी-मेलौली नगरपालिका वडा.नं-१ को आयोजनामा पोषण तथा स्वास्थ्यकर व्यवहार परिवर्तन सम्बन्धी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरूको ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा क्षेत्रभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पोषण सुधार, मातृ तथा शिशु स्वास्थ्य, सुरक्षित मातृत्व, नवजात शिशुको हेरचाह, परिवार नियोजन, नियमित खोप, सरसफाइ, स्वास्थ्यकर जीवनशैली तथा समुदायमा स्वास्थ्य शिक्षा प्रवाह गर्ने विधिबारे विस्तृत सहजीकरण गरिएको थियो। साथै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने उपाय तथा समुदायमा व्यवहार परिवर्तन ल्याउने रणनीतिबारे समेत छलफल गरिएको थियो।

आधारभूत स्वास्थ्य सेवा केन्द्र हरिचनका प्रमुख सीता विष्टले महिला स्वास्थ्य स्वयंसेविका समुदायमा स्वास्थ्य सेवा विस्तार गर्ने सबैभन्दा महत्वपूर्ण जनशक्ति भएको बताईन्। उहाँले गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षण, सुरक्षित मातृत्व, नवजात शिशुको हेरचाह, नियमित खोप, पोषण प्रवर्द्धन, परिवार नियोजन तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धिमा स्वयंसेविकाको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो।

यस्ता अभिमुखीकरण कार्यक्रमले स्वयंसेविकाको क्षमता अभिवृद्धि हुनुका साथै समुदायमा स्वास्थ्य सम्बन्धी व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच प्रभावकारी समन्वय कायम गरेर स्वास्थ्य सेवालाई घरदैलोमै सहज र गुणस्तरीय बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले बताउनुभयो।

वडा अध्यक्ष शरद सिंह नेगीले स्वस्थ समुदाय निर्माणका लागि महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, पोषण तथा जनचेतनामूलक कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर निरन्तर सञ्चालन गरिरहेको बताउँदै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर नागरिकलाई अझ प्रभावकारी सेवा दिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले व्यवहारिक अभ्यास, समूह छलफल, अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो ज्ञान, सीप र आत्मविश्वास बढेको तथा समुदायमा सेवा प्रवाह गर्न थप सहज हुने प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको समापनसँगै सहभागीहरूलाई समुदायमा पोषण तथा स्वास्थ्यकर व्यवहार प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.