स्वर्गीय स्वास्थ्यकर्मी हेमन्त भण्डारीका परिवारलाई स्वास्थ्यकर्मीको साथ, १ लाखभन्दा बढी सहयोग हस्तान्तरण

बैतडी– बैतडीको पाटन नगरपालिका–६ निवासी स्वर्गीय स्वास्थ्यकर्मी हेमन्त भण्डारीका परिवारलाई स्थानीय स्वास्थ्यकर्मीहरूले संकलन गरेको १ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेका छन्।

पाटन नगरपालिका क्षेत्रभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी मंगलबार भण्डारीको निवासमै पुगेर उनका ७ वर्षीय छोरालाई १ लाख ७ हजार २३५ रुपैयाँ हस्तान्तरण गरेका हुन्। पाटन नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दमयन्ती ऐरका अनुसार कुल १ लाख ९ हजार ६६५ रुपैयाँ संकलन भएको थियो। उक्त रकममध्ये २ हजार ४३० रुपैयाँ आवश्यक सामग्री खरिदमा खर्च गरी बाँकी रकम परिवारलाई उपलब्ध गराइएको हो।

सिलङ्गा स्वास्थ्यचौकीका प्रमुख बिरसिंह खातीले दुःखको घडीमा परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूले स्वेच्छिक रूपमा सहयोग जुटाएको बताए। उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र पाटन, पाटन नगरपालिकाको स्वास्थ्य शाखा, आयुर्वेद शाखा तथा नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा सहयोग रकम संकलन गरिएको हो।

सहयोग रकम हस्तान्तरणसँगै स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै निवासमै शोकसभा समेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले भण्डारीले स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

स्वर्गीय हेमन्त भण्डारी पाटन नगरपालिका–५ स्थित ओदाली शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत थिए। मुटुको शल्यक्रियाका लागि कैलालीको अत्तरियास्थित अस्पतालमा उपचाररत रहेका उनको असार २२ गते निधन भएको थियो। परिवारले भने अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाउँदै आएका छन्।

भण्डारीका श्रीमती र ७ वर्षीय एक छोरा छन्। सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले परिवारलाई आगामी दिनमा पनि आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.