बैतडी-बैतडीमा शारीरिक अशक्तता तथा अपांगता भएका नागरिकलाई लक्षित गर्दै ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन हुने भएको छ।
जिल्लामा केही दिनअघि मात्र हाजिर भएकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयसम्म पुग्न नसकेका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन्।
शारीरिक अशक्तता तथा अपांगताका कारण नागरिकता बनाउन कार्यालयसम्म आउन नसकेका नागरिकलाई सकेसम्म उनीहरूकै घर वा सहज हुने नजिकको स्थानमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइने प्रजिअ अर्यालले बताइन्।
कार्यक्रम सञ्चालनका लागि जिल्लाका १० वटै स्थानीय तहबाट विवरण संकलन गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै नागरिकता बनाउन बाँकी रहेका अशक्त तथा अपांगता भएका नागरिकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
विवरण संकलनका लागि आवश्यक ढाँचासहित स्थानीय तहहरूलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिइन्। स्थानीय तहबाट विवरण प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी लक्षित नागरिकलाई सहज रूपमा नागरिकता उपलब्ध गराउने तयारी गरिएको छ।