बैतडी -बैतडीमा भारी वर्षाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार भदौ २ गते मंगलबार बेलुका ७ बजेदेखि भदौ ४ गते बिहीबार बिहान ५ बजेसम्म ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी वर्षा तथा मनसुनजन्य विपद्को जोखिम हुनसक्ने पूर्वानुमानपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ। पक्की सडकमा समेत सावधानीपूर्वक सवारी सञ्चालन गर्न र सतर्कता अपनाउन सबै सवारी चालकलाई आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले खोला तथा नदी आसपास नजान प्रशासनले आग्रह गरेको छ।
लगातारको वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। सम्भावित विपद्का घटनाबाट जोगिन स्थानीय तह तथा सुरक्षा निकायले जारी गर्ने सूचना र निर्देशनको पालना गर्नसमेत आग्रह गरिएको छ।
विपद्को अवस्था उत्पन्न भए तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित सुरक्षा निकाय र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।