बैतडी: जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लभित्र एकभन्दा बढी स्थानमा नाम दर्ता गराएका दोहोरो मतदाताहरूको नाम नामावलीबाट हटाएको छ। मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार विवरणहरूको जाँचबुझ गर्दा एउटै व्यक्तिको नाम फरक फरक ठेगानामा भेटिएपछि निर्वाचन कार्यालयले मतदाताहरूको नाम नामावलीबाट हटाएको हो।
छानबिनका क्रममा दोहोरो नाम पुष्टि भएका मतदाताको एक ठाउँको ठेगाना मात्रै कायम राखी बाँकी स्थानको नाम हटाइएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो। यसरी नामावलीबाट नाम हटाइएका मतदाताहरूका लागि कार्यालयले दाबी विरोध वा सच्याउने अवसर समेत दिएको छ।
यदि कसैको विवरण गल्तीले हटेको वा त्यसमा कुनै फरक परेको भए असोज १८ गतेभित्र आवश्यक प्रमाण खुल्ने कागजातसहित जिल्ला निर्वाचन कार्यालय बैतडीमा सम्पर्क गर्न सकिने सूचना अधिकारी नरेश दयालले बताउनुभयो। निर्वाचन प्रणालीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले मतदाता नामावली अद्यावधिक कार्यलाई निरन्तरता दिइएको निर्वाचन कार्यालयले जनाएको छ।