बैतडीको मेलौलीमा सम्पन्न जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो स्थान हासिल गर्न सफल मेलौली नगरपालिका वडा नम्बर ७ को टोलीलाई सम्मान गरिएको छ।
वडा नम्बर-७ ले आज एक कार्यक्रम आयोजना गरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने महिला भलिबल टोलीलाई सम्मान गरेको हो।
खेलाडीको मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनको कदर गर्दै टोलीलाई सम्मान गरिएको वडा खेलकुद समितिका अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए।
खेलकुदले युवाको प्रतिभा पहिचान र विकाससँगै अनुशासन, एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष रामचन्द्र भट्टले बताए। आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने वडा अध्यक्ष भट्टले बताए ।
मेलौली नगरपालिकाको खेलमैदान विठ्नेमा सम्पन्न प्रतियोगितामा महिलातर्फ शिवनाथ गाउँपालिका–६ प्रथम, पुर्चौडी नगरपालिका–१ दोस्रो र मेलौली नगरपालिका वडा नम्बर ७ तेस्रो भएका थिए।