बैतडी– बैतडीमा उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ ।बैतडी सदरमुकाममा आयोजना गरिएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठीमा आज स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडाले बताए ।
जिल्लाका दशओटै पालिकाबाट एक÷एक जना गरेर १० जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा गरेको कार्यसम्पादनका आधारमा उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा डिलाशैनी गाउँपालिकाको डिलाशैनी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक प्रगति भट्ट, दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी कुमारी सरस्वती भट्ट, पुर्चौंडी नगरपालिकाको महादेवस्थान स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव गम्भीरसिंह धामी, सुर्नया गाउँपालिकाको भूमिराज आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव आनन्दसिंह बोहरा र दशरथचन्द नगरपालिकाको थालीगडा स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव विकास भट्ट रहेका छन् ।
यस्तै पाटन नगरपालिकाको कैलपाल स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत नरेशबहादुर चन्द, पञ्चेश्वर गाउँपालिकाको महाकाली स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी पार्वती चन्द, शिवनाथ गाउँपालिकाको नागार्जुन आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिष्टेन्ट जीवनसिंह साउँद, मेलौली नगरपालिकाको महारुद्र स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी विन्दा साउँद, सिगास गाउँपालिकाको चौखाम स्वास्थ्यचौकीमा कार्यरत अनमी हाँसाकुमारी बोहरा पनि सम्मानित भएका छन् ।
उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओखेडाले बताए ।
स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप उर्जाका साथ काम गर्ने प्रेरणा र हौसला मिलोस भनेर सम्मान गरिएको उनले बताए ।
स्वास्थ्य कार्यालयले गरेको सम्मानले आफूहरुलाई कर्म क्षेत्रमा थप उर्जाका साथ लाग्ने प्रेरणा मिलेको कैलपाल स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत नरेशबहादुर चन्दले बताए ।
आफूले स्वास्थ्य क्षेत्रमा ३० बर्ष सेवा गरेको बताउँदै उनले स्वास्थ्य कार्यालयले गरेको सम्मान थप जिम्मेवार बनाएको बताए ।
उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी मीना अर्याल र स्वास्थ्य कार्यालयका प्रमुख सुदीप ओखेडाले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
स्वास्थ्य कार्यालय बैतडीले हरेक बर्ष उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै आएको छ ।