बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिका–६ मा दुईदिने उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
‘संस्कार सहितको शिक्षा, आजको आवश्यकता’ भन्ने मूल नारासहित आगामी मंसिर ४ र ५ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष हरिसिंह भण्डारीले जानकारी दिए ।
वडा कार्यालयको आयोजनामा हुने उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ । कार्यक्रम वडा नं .६ स्थित बेतना माध्यमिक विद्यालय, राजुलमा सञ्चालन हुनेछ ।
शिक्षा किताबको ज्ञानमा मात्र सीमित नभई संस्कार, अनुशासन, नेतृत्व, सकारात्मक सोच, नैतिक मूल्य, जीवनोपयोगी सीप, जिम्मेवारीबोध र व्यवहारिक जीवनसँग जोडिनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष भण्डारीले बताए ।
शैक्षिक अभियन्ता हरिश ओलीले सहजीकरण गर्ने प्रशिक्षणमा विद्यार्थीको व्यक्तित्व विकास, सकारात्मक सोच, संस्कारयुक्त शिक्षा, शिक्षकको भूमिका, अभिभावकीय जिम्मेवारी तथा समाजप्रतिको दायित्वलगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । संस्कारयुक्त शिक्षा, सकारात्मक सोच र जिम्मेवार समाज निर्माणका लागि साझा अभियानलाई सार्थक बनाउने अपेक्षासहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।