बैतडी प्रशासनद्वारा ‘फेसलेस’ सेवा शुरू

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने ९फेसलेस० सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले अनलाइन माध्यमबाटै आदिवासी–जनजाति, खस–आर्य तथा दलित प्रमाणित गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।

जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सदरमुकाम पुगेर सेवा लिन सर्वसाधारणले व्योहोर्नुपर्ने समय र आर्थिक खर्चलाई मध्यनजर गर्दै फेसलेस सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताइन् ।

प्रजिअ अर्यालले शुक्रबार जारी गरेको सूचनाअनुसार सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन् । कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक सिफारिसपत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाउने व्यवस्था गरिएको छ ।

यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका खस–आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा कायम भएको हुनुपर्नेछ ।

अनलाइन आवेदन गर्दा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिसपत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रंगीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.