बैतडी-लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिकाले मनोपरामर्श तथा बहुपक्षीय सेवा प्रवाह सम्बन्धी घुम्ती सूचना कक्ष सञ्चालन गरेको छ ।
लैङ्गिक हिंसाबारे सचेतना फैलाउने, हिंसाविरुद्ध बनेका कानुनी व्यवस्थाबारे जानकारी दिने तथा हिंसापीडितलाई आवश्यक मनोपरामर्श सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले विभिन्न स्थानमा घुम्ती रूपमा सूचना कक्ष सञ्चालन गरिरहेको छ ।
नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरका अनुसार अभियानअन्तर्गत गोठलापानीमा बिहीबार र शुक्रबार सूचना कक्ष सञ्चालन गरिएको थियो । नगरपालिकाका अन्य क्षेत्रमा पनि सूचना कक्ष सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन् ।
उनका अनुसार देहीमाण्डौंमा मंसिर १४ र १५ गते, मुस्याचौरमा मंसिर २१ गते तथा गुरुखोलामा मंसिर २२ गते सूचना कक्ष सञ्चालन गरिनेछ ।
सूचना कक्षमार्फत लैङ्गिक हिंसाका स्वरूप, हिंसाविरुद्धका कानुनी व्यवस्था, पीडितले प्राप्त गर्न सक्ने सेवा तथा हिंसा न्यूनीकरणका उपायबारे जानकारी दिने गरिएको छ । साथै, सहभागीहरू सँग सचेतनामूलक छलफल समेत सञ्चालन भइरहेको नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक अम्बादत्त बोगटीले जानकारी दिए ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको महिला तथा बालबालिका शाखा प्रमुख कुँवरले बताइन् ।