कात्तिक २७,आइतबार २०७९
बैतडी – बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले एक वर्षपछि चिकित्सक पाएको छ ।
एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या भइरहेको थियो । गत वर्ष असोजमा डाक्टरको अन्यत्र ठाउँमा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जनस्वास्थ्य निरिक्षकको भरमा चल्दै आएको थियो।
मेलौली नगरपालिका भित्र रहेको सो स्वास्थ्य केन्द्रको लागि नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना एमबिबिएस चिकित्सक छनौट गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरायण बहादुर चन्दले बताए ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले आह्वान गरेको आवदेनमा डाक्टर सन्जिन केसी छनौट भएका हुन । डाक्टर केशीले सोमबार (भोली) देखि सेवा शुरु गर्ने उनले बताए ।डाक्टर केसीले २०८० बैशाख अन्तिमसम्मको करार नियुक्त पाएका हुन ।
नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले बताए ।‘हामीले नगरपालिकाबाट पनि थप सेवा सुविधा दिने गरेर डाक्टर नियुक्त गरेका छौं । अबका दिनमा प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा सहज हुनेछ’ प्रमुख चन्दले भने ।
जिल्लाको मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकालाई तल्लो सोराड भनेर चिनिन्छ । तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेलाबेलामा चिकित्सकको अभाव हुने गरेको छ ।
अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि तल्लो सोराडबासीलाई सजिलो हुने स्थानीय पदम दयालले बताए ।उनले भने ‘लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएका छन । अब उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ’ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे, इसिजी, अल््ट्रासाउण्ड, पोष्टमार्टम लगायतका सेवाहरु सञ्चालन हुने मेलौली स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सोराडवासीले शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल बैतडी आउनुपर्ने बाध्यता रहेको थियो । एक दिनको बाटो पर्ने जिल्ला अस्पतालको काम अब केशरपुर स्वास्थ्य केन्द्रमा नै हुनेछ ।
नगरपालिकाले पटक पटक डाक्टरका लागि आवेदन आह्वान गरेको भएपनि कसैको निवेदन परेको थिएन । पछिल्लो पटकको आवेदनमा मात्र डाक्टर पाएको मेलौली नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत जगदिश प्रसाद जोशीले जानकारी दिए ।