रोहित भट्टका दुई गजल

गल्ती भरी सबै मेरो गजब काम तिम्रो
कतिञ्जेल टिक्छ हेरौं छलछाम तिम्रो ।।
हिँडे बरु पुग्छु होला पछारिनु छैन
चढ्दिन म घोडा रैछ बेलगाम तिम्रो ।।
दुनियाँले थाह पाए भने कसो गर्लान
बगलीमा छुरा मुखमा रामराम तिम्रो ।।
कति कठोर हुन सक्या होला मुटु पनि
मुटुभित्र ढुङ्गा छ कि छ फलाम तिम्रो ।।

औकात भुल्यौ ती पुराना दिन सम्झिएनौ
जमिनबाटै उडेका हौ जमिन सम्झिएनौ ।।
विवाहमा निम्तो दियौ दुनिँयालाई बोलायौ
भुपु आफ्नो प्रेमिलाई किन सम्झिएनौ ।।
चढ्छौ कारमा जहाजमा खुशी लाग्छ छोरा
दुःख लाग्छ जब यत्रो रिन सम्झिएनौ ।।
मर्ने बेला जिन्दगानी सम्झी सम्झी रुदैछौ
जिन्दगीमा जिन्दगीलाई एकछिन सम्झिएनौ ।।
असम्भब त केही पनि रहेनछ बुझियो ,
धोका दिन तिमिले जब कठिन सम्झिएनौ ।

रोहित भट्ट
गोदावरी नगरपालिका —७ कैलाली
हाल मेलौली नगरपालिका बैतडीमा कार्यरत छन ।

 

 

Leave A Reply

Your email address will not be published.