झल्कन्छ : आमाको माया

सायद आमाले दिएको यही स्नेहले गर्दा होला, कतै चोट पर्दा पनि आमा नै उच्चारण आउँछ। खुट्टामा काँडाले घोच्दा होस् या कुनै पीडामा हुँदा होस् एक सन्तानले आमाकै नाम जप्छ !

कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झे मन रुन्छ। बढी न्यास्रो लाग्छ अनि आमाभन्दा आँसु र्झछ। नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन्। त्यो आमाप्रतिको गहिरो प्रेम भएर नै हो। एक विश्वचर्चित व्यक्ति एवं अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्-’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। आमा प्रेम र विश्वासको बास्केट हो, एउटा सन्तानको लागि। एउटा भनाइ छ-’प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन।’ आमाबाट हिंसा हुने कुरा कल्पना बाहिर हुन्छ। साँच्चै भन्ने हो भने आमा छोडेर कतै गएमा एक्लो वा केही न केही अभाव भएजस्तो महसुस हुन्छ। आमा संसार हो। संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन। आमा सन्तानको ढुकढुकी हो। बालबालिकाको आशा र भरोसा हो। अनि समाजको गहना हो। आमाबिनाको परिवार खल्लो हुन्छ। आमाको बारेमा शब्दमा भूमिका बाँधेर केही लेखेर मात्र पुग्दैन। यसको वर्णय गरी साध्य छैन। आमाबिनाको जीवन पानीबिनाको माछाजस्तै हुन्छ। जहाँ आमा, त्यहाँमात्र राम्रो सपना देख्न सकिन्छ। आमाबिनाको जीवन मरुभूमिजस्तै हो। जहाँ मनले खुसी हात पार्न सक्दैन। आमा सन्तानको लागि महादेवता हुन्।आमाको ओठमा सधैँ हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो। जहाँ आमा त्यहाँ सधै घामछाँया हुन्छ। आमाको सक्रियता सन्तानको भाग्य र भविष्य निर्माणसँग सम्बन्धित हुन्छ। आफूले खाई नखाई आफ्नो सन्तानलाई मीठो मसिनो खान दिने आमाको कर्त्तव्यप्रति कसैको गुनासो रहँदैन। आफूले निल्नै लागेको गास पनि सन्तानलाई दिन उत्साहित हुन्छन्।
कैयौं पीडा सहेर जन्म दिने भनेकै आमाले हो। आफ्नो दशधारा दूध पिलाएर नाना ताते गर्दै हुकाउने पनि आमाले हो। सबैभन्दा पहिलो माया साटासाट गर्ने वर्ग पनि आमा नै हो। पिठ्यँूमा घाँसपातको भारी अनि भारीमाथि नानीबाबुलाई बोकेर घरगोठ गराउने पनि आमा नै हुन्। बालकको चौतर्फी विकासको विषयमा गहिरो व्यवहारिक चिन्तन दर्शाउने वर्ग पनि आमा नै हो। आमालाई जवानीमा त्यति धेरै माया दिने नदिने सन्तानको कुरा हो तर साथ दिनु पर्दछ। जब आमा कमजोर हुँदै जान्छिन्, आमाको हेरविचार एवं स्याहार सहयोगमा कत्ति पनि कमी आउन दिनु हुँदैन। भनाइ छ, अरुको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ। संसारको सबैभन्दा रमाइलो समय भनेको आमाको फरियामा बेरिदा एवं काखका कोकोहोलो गर्दा हुन्छ। आमाले यस संसारमा जन्म दिनुभएको छ। त्योभन्दा ठूलो आमाको महिमा गर्ने अरु केही छैन। आमा जीवनको ज्योति हो। मायाको सागर हो। जीवनको पहिलो प्रभावकारी ज्ञानरुपी पाठशाला पनि हो। तसर्थ हिजोका दिनमा स्याहार गर्दागर्दै शिथिल आमाको जीवनलाई सुखी स्वास्थ्य र सम्पन्न बनाउन जीवनको महत्वपूर्ण पाटो आमाको बुढेसकालको सहाराको लागि खुसीसाथ खर्च गर्नैपर्छ। पूर्ण रेखदेख एवं लालनपालन गर्ने काम सन्तानको हो।
सन्तानको क्रन्दनमा रुँदा रुँदा सायद एक आमाको आँसु नदी जत्तिकै भिमकाय हुन्छ होला। सन्तानकै बारेमा सोचेर सायद उनका पीडाहरूले गगनचुम्बी पहाडभन्दा बडेमानका ढिस्काहरू बनाउँछन् होला। एक आमाले सन्तानको पीडामा बगाएको आँसु देखिन्थ्यो भने, सायद आठौं महासागर आमा कै नामबाट बन्थ्यो होला। सन्तानका लागि एक आमाले पाएका पीडालाई सङ्गाल्ने हो भने सबैभन्दा अग्लो हिमालको नाम आमाकै नामबाट हुन्थ्यो होला ! सन्तान हुर्काउँदा यति पीडा सहन्छिन्, यति आँसु पिउँछिन् तर त्यसको वहिखाता आमाले कहिल्यै पनि राख्दिनन्। किन कि आमालाई त आफ्नो सन्तानलाई माया गर्न मात्र आउँछ।
आफ्ना सन्तानप्रतिको अपार माया देख्दा यस्तो लाग्छ, मिल्थ्यो भने आमाले यतिसम्म गर्थिन्, कालसँग सन्तानको सट्टा आफैँ जान्थिन्। आमाले आफ्ना सन्तानलाई गर्ने माया र स्नेहलाई लेखेर या कुनै शब्दकाे माध्यमबाट व्यक्त गरेर खुलाउन सकिँदैन। आमाको माया आफ्ना सन्तानप्रति अनुत्तरित हो, विशाल हो। आमाले गर्ने मायाभन्दा ब्रह्माण्डको आकार पनि सुक्ष्म हो।
सायद आमाले दिएको यही स्नेहले गर्दा होला, कतै चोट पर्दा पनि आमा नै उच्चारण आउँछ। खुट्टामा काँडाले घोच्दा होस् या कुनै पीडामा हुँदा होस् एक सन्तानले आमाकै नाम जप्छ
जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ। आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन् तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ। सबैभन्दा बढी रोदन आमालाई सन्तान गुमाउनुमा हुन्छ। त्यतिबेला एक अबला आमालाई यस्तो लाग्दो हो, कालले सर्वस्व हरोस्, बरु मलाई नै हरोस् तर मेरो सन्तानलाई केही नहोस्।
आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्तिकारकाे सलाम छ। आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ।

Leave A Reply

Your email address will not be published.