काठमाडौँ- ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन् ।
विश्व धूम्रपान रहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधान सम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशि नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो ।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना बिस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनीकरणमा विशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार जोशीलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न जोशी हाल हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थटुडेनेपालडटकम अनलाइनका सम्पादक हुन ।
विश्व धूम्रपान दिवसकै अवसरमा माध्यमबाट सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा गरेको योगदानको कदर गर्दै पत्रकार जोशी सहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा. भक्त केसी, वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रिता सिंह, एक्सन नेपाल, विराटनगर महानगरपालिका र नेपाल विकास अनुसन्धान प्रतिष्ठान रहेका छन् ।
पुरस्कृत सबैलाई जनही नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सुर्तीजन्य पदार्थ विरुद्दको अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताए ।