आँप कति खाने ?

अहिले फलहरुको राजा आँपको सिजन हो। बजारमा थरीथरीका आँप किन्न पाइन्छ। आँप खाँदा स्वादिलो हुनुकासाथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खाँदा यसले उल्टै शरीरलाई नै असर गर्छ।

आँप खाने तरिका पनि फरकफरक हुन्छ। आँपलाई काटेर, जुस बनाएर वा अचार बनाएर पनि खान मिल्छ। तर बजारबाट किनेर ल्याएको आँप खानुअघि कम्तीमा १२ घण्टा सफा पानीमा डुबाएर राख्नु पर्छ। बजारमा विषादी प्रयोग गरेर पकाएका आँप पनि भेटिन्छन्। आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने सम्भावना रहन्छ।

कसले कति खाने?
साना केटाकेटी, ज्येष्ठ नागरिक, पाचन प्रणाली कमजोर भएका व्यक्तिले आँप खाँदा एकरदुई चानादेखि बढीमा एउटा सिङ्गै पनि खान मिल्छ। युवाले पनि दिनमा दुईदेखि तीनवटासम्म आँप खान मिल्छ । तर एकै चोटी खाँदा कहिलेकाहीँ समस्या पनि हुन सक्छ ।

आँपको अचार बनाएर पनि खान मिल्छ। आँपबाट बनेको अचार तुरुन्तै वा एक हप्तासम्म खान मिल्छ। तर एक हप्ताभन्दा धेरै दिन राखेको अचारमा ढुसी लाग्न सक्छ। ढुसी लागेको वा अचारमा मिसिएको चिनीले शरीरलाई झन बेफाइदा गर्छ।

मधुमेहका बिरामीले आँप खाँदा शरीरमा चिनीको मात्रा हेरेरमात्रै खानुपर्छ। आँपमा चिनीको मात्रा धेरै हुने भएकाले, आँप खाँदा यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ। मधुमेहका बिरामीको शरीरमा ब्लड सुगर लेभर तीन सयभन्दा धेरै भए आँप खानै हुँदैन। तर ब्लड सुगर लेभल एक सय ६० देखि ७० सम्म वा आसपास भए एकरदुई चाना आँप खाँदा केही हुँदैन।

मधुुमेहका रोगीले आँप खानै हुँदैन भन्ने कुरा पनि गलत हो। अरुले खाएको हेर्दा वा आफू खान नपाउँदा पनि शरीरमा चिनीको मात्रा बढ्न सक्छ। त्यसैले आँप खाएर हिँड्डुल वा कसरत गर्नु पर्छ । यसोगर्दा आँप खाँदा पाइने शक्ति खर्च हुन्छ। छालाको एलर्जी भएका व्यक्तिले डाक्टरलाई सोधेरमात्रै आँप खानुपर्छ।

तर आँप मिठो भयो भन्दैमा शरीरलाई चाहिनेभन्दा धेरै आँप खानु पनि ठिक होइन। धेरै आँप खाँदा शरीरले पचाउन सक्दैन र झाडापखाला लाग्न सक्छ। कोहीलाई त पखालासँगै ज्वरो आउने र छालामा समस्या पनि देखिन सक्छ।

गाउँघरमा फलेको ताजा आँप हो भन्दैमा ५, ६ वटा पनि खान भएन। शरीरको पचाउने सक्ने क्षमताभन्दा बढी आँप खाए अमन हुन सक्छ।

कस्तो आँप खान हुँदैन?
अहिले आँपको सिजन भएकाले बजारमा विषादी प्रयोग गरेर पकाइएका आँप छ्याछ्याप्ती भेटिन्छ। त्यसैले शुरुमा त आँप किन्ने बेलामै सचेत हुनु पर्छ। विषादी हालेर पाकेका आँप हेर्दा एकैनासको पहेँलो वा सबैतिर पाकेजस्तो देखिन्छ। कुनै आँप हेर्दा पाकेको जस्तो देखिए पनि छाम्दा काँचो हुन्छ। तर बोटमै पाकेको आँप हेर्दा कतै पहेँलो कतै हरियो देखिन्छ।

बजारमा पाइने डब्बाको आँप, प्याकेटको आँप वा म्याङ्गो जुस खान हुँदैन।

Leave A Reply

Your email address will not be published.