नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनःनेकपा तिरै फर्कनुपर्ने बताएका छन्। आईतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले समाजवादीमोर्चा घोषणाको बेलामा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताउनुभयो।
प्रधानमन्त्री दाहालले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बतउनुभयो। उहाँले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गरेको बताउनुभयो। उहाँले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो।
प्रधानमन्त्री दाहालले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।