एसईई दिएका विद्यार्थीको मनोविज्ञान कस्तो हुन्छ?

सरकारले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ। शिक्षा ऐन, २०२८ को आठौं संशोधनले विद्यालय तहलाई दुई तहमा स्तरीकृत गरेको छ। बाल कक्षादेखि ८ कक्षासम्म आधारभूत तह र कक्षा ९ देखि १२ कक्षालाई माध्यामिक शिक्षा । तर अझै पनि कक्षा ११ र १२ लाई उच्च शिक्षा कै रुपमा मानेको देखिन्छ।

कुनै बेला साविकको एसएलसीलाई उच्च शिक्षा प्रवेश गर्ने ‘फलामे ढोका’ को रुपमा चित्रण गरिन्थ्यो। कक्षा ११ र १२ माध्यामिक शिक्षामा गाभिएपछि एसईई सामान्य परीक्षा सरह हो। तर विद्यालय, शिक्षक, अभिभावकले अहिले पनि एसईईको नतिजालाई लिएर ठूलो हल्ला गरिरहेको देखिन्छ।

यस्तो अवस्थामा कक्षा ११ मा पढ्न जाने विद्यार्थीहरुमा एक किसिमको दबाव सिर्जना हुने शिक्षाविद् मिनाक्षी दाहाल बताउँछिन्। विद्यालय, शिक्षक र अभिभावकले उनीहरुको प्राप्ताङ्कलाई लिएर गर्ने प्रचारवाजीले मनोवैज्ञानिक रुपमा दबाब सिर्जना हुन्छ।

बढी जीपीए ल्याएकालाई त्यही अनुसारको विषय रोज्नुपर्ने, कम जीपीए ल्याएकोलाई अरु जत्ति जीपीए नल्याएको हिनताबोध अथवा कमजोर मानसिकता लिने गरेको शिक्षाविद् दाहालको भनाइ छ।

उनी भन्छन् ‘अहिले देखिरहनुभएको होला कतिपय विद्यालयले शतप्रतिशत जीपीए ल्याएको अथवा सबैभन्दा बढी जीपीए ल्याएको भन्दै बधाई दिइरहेका छन्। यसले बढी ल्याएकाले भारी अनुभव गर्ने र कम ल्याएकाले कमजोर अनुभव गर्छन्। यो अवस्थाबाट ११ मा भर्ना हुन जाने गरेको देखेको छु, भेटेको छु।’

अझै पनि एसईई परीक्षालाई ठूलो खुड्किलोको रुपमा लिन नछाड्दा बालबालिकामा मनोवैज्ञानिक दबाब बढ्ने उनी बताउँछिन्। अहिले पनि बढी जीपीए ल्याउँदा विज्ञान, इन्जियिरिङ पढ्नपर्ने, मध्यम आउँदा व्यवस्थापन र सबै भन्दा कम जीपीए ल्याएकोले मानविकी अथवा शिक्षा संकाय रोज्न लगाउने, सुझाव दिने गरेको उनको अनुभव छ। ‘हाम्रो बढी अंक, जीपीएको धङधङीले बच्चाहरुमा अनावश्यक बोझ थपिरहेका छौं । अझ अनि हामी शिक्षाको कुरा गर्छौं,’ उनी भन्छिन्।

एसईई अझ कुनै पनि परीक्षालाई सहज बनाउन शिक्षक, विद्यालय, अभिभावक संवेदनशील हुनुपर्ने र उनीहरुको स्वभाव, क्षमता अनुसार सहज वातावरण बनाउनुपर्ने शिक्षाव्दि दाहालको तर्क छ ।

अहिले एसईई दिने विद्यार्थीहरु बीच किशोरावस्था उमेरमा हुन्छन्। अथार्त १५, १६ उमेर समूहका हुन्छन्। यो उमेरमा आफ्नो क्षमता, आफ्नो स्वभावको बारेमा बुझ्न सक्ने कम हुने शिक्षाविद् प्रा।डा।लक्ष्मण ज्ञवाली बताउँछन्।

उनको भनाइ अनुसार मास एजुकेशनको, वरपर साथीभाइको, विभिन्न सञ्चार माध्यामले उनीहरुमा प्रभाव पार्छ। ज्ञवाली भन्छन्, ‘कलिलो मानसिक स्थितिका हुन्छन्। जता पनि लच्किने खालको हुन्छ । जे सुन्दा पनि ठीक लाग्ने अथवा केही पनि ठीक नलाग्ने मनोविज्ञानका हुन्छन्।’

त्यसैले उनीहरुलाई यो बेला तिम्रो क्षमता, स्वभाव अनुसार कुन विषय पढ्ने र कसरी पढ्ने भन्ने विषयमा परामर्शको, सल्लाहको आवश्यकता पर्ने उनको भनाइ छ। विद्यार्थी पढेको विद्यालयले विद्यार्थीलाई नजिकबाट बुझेको हुने भएकोले उपयुक्त विषय रोज्न परामर्श दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ। भर्ना लिने विद्यालयले पनि विद्यार्थीको स्वभाव, क्षमता बुझेर परामर्श दिएर भर्ना लिनुपर्ने ज्ञवालीको तर्क छ।

ज्ञवालीको भनाइसँग एसईईको नतिजा लिएर बसिरहेकी १७ वर्षीया अस्मिता चौलागाईंको अनुभव मिल्न जान्छ। अहिले उनी के पढ्ने भन्ने अन्योलमा छिन्।

अन्तर्खुमी स्वभावकी अस्मितालाई यदि विद्यालयले तिम्रो यो क्षमता अथवा स्वभाव यो छ भनिदिएको भए उनलाई अहिले के पढ्ने भन्ने सकस नहुन सक्थ्यो। तर कक्षा १० सम्म मात्र भएको विद्यालयमा पढेकी अस्मितालाई अहिले अब के पढ्ने भन्ने विषयले मात्रै नभएर अर्को विद्यालयमा भर्ना हुन जाँदा के हुने कस्तो हुने भन्ने संशयले पनि पिरोलेको छ।

उनी भन्छिन्, ‘स्कुलमा सरहरुले तिमी यो पढ भन्नुभएको भए अलि सहज हुन्थ्यो कि। अब दाई दिदीले के भन्नुहुन्छ त्यहि पढ्ने होला।’ अस्मिताको अनुभवबाट विद्यार्थीको दोधारे मनोविज्ञानलाई विद्यालयले नै सहज बनाउने प्रयास गर्ने तर्फ ध्यान पुगेको देखिँदैन। अब भर्ना खुलाउने, लिने विद्यालयहरुले विद्यार्थीको के कस्तो विषय पढ्ने भन्ने दुविधा हटाउनको लागि सहजीकरण गर्नुपर्ने देखिन्छ।

Leave A Reply

Your email address will not be published.