प्रधानमन्त्री कप राष्ट्रिय भलिबल:महिलातर्फ एपीएफको फाइनल सम्भावना बलियो
काठमाण्डौ – सशस्त्र प्रहरीको एपीएफ क्लबको महिला टोलीले प्रधानमन्त्री कप राष्ट्रिय भलिबलको फाइनल सम्भावना बलियो बनाएको छ ।
आज बिहीवार भएको खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनल नजिकै पुगेको हो । अब न्यु डायमन्डले भोलि शुक्रवार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएमा मात्रै फाइनलको सम्भावना रहनेछ । नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।
महिलातर्फ आजै भएको अर्को खेलमा एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबलाई हरायो ।
यस्तै पुरुषतर्फ एपीएफ क्लबले हेल्प नेपाल क्लबलाई ३–२ को सेटमा हरायो । दुवै टोलीको फाइलन सम्भावना उच्च छ । आजै भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।
भोलि एपीएफलाई हराएमा पुलिस फाइनलमा पुग्नेछ । यस्तै आर्मीले हेल्प नेपालसँग खेल्नेछ ।
आजै भएको खेलमा गण्डकीले शैलुङ बाङ्गेमुढालाई ३–२ को सेटमा हराएको छ । दुवै टोली फाइलन प्रवेशको दौडबाट बाहिरिएका छन् ।
अन्तिम अपडेटस् असार २८, २०८०