सुदूरपश्चिममा विपत्तिका घटनाबाट एक वर्षमा ८५ को मृत्यु

बैतडी- सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा प्राकृतिक विपत्तिका घटनामा परेर ८५ जनाले ज्यान गुमाएका छन् ।२०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङ लगायत विपतका घटनामा परेर ८५ जनाले ज्यान गुमाएका हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयस्थित प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला छन् । त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका जनाइएको छ । पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्।

हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका जनाइएको छ ।

हावाहुरी, भारी वर्षा र अन्य कारणले एक एक जनाले ज्यान गुमाएका छन्। पहिरोमा एक र बाढीमा नौ गरी १० जना बेपत्ता, पहिरोमा परी १७, चट्याङ लागेर ५१, हिउँपहिरोका कारण दुई, बाढीका कारण १३, भूकम्पका कारण १२ जना घाइते भएका छन् । आगलागीमा ३०, जनावरको आक्रमण ६३, सर्पदंशबाट एक, हावाहुरीका कारण ७० र भारी वर्षाका कारण ७२ जना घाइते भएका जनाइएको छ ।

एक वर्षको अवधिमा प्राकृतिक विपत्तिबाट ९८२ घरपरिवार प्रभावित भएका छन्। २३२ घरमा आंशिक र २१९ घरमा पूर्ण क्षति भएको जनाइएको छ। प्राकृतिक विपत्तिका कारण ९५४ पशुचौपायाको ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.