बैतडी । नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण बिस्तारका लागि मेलौली नगरपालिकालाई अनुरोध गरिएको छ। मेलौली नगरपालिका भरि राष्ट्रिय प्रसारण लाईन बिस्तारका लागि गठन गरिएको संघर्ष समितिले अनुरोध गरेको हो।
आईतबार प्रमुख प्रशासकिय अधिकृत सपना कार्किलाई संघर्ष समितिले निबेदन बुझाएको छ। सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै राष्ट्रिय प्रसारण लाईन जडान प्रकृयाको पहल थाल्न नगरपालिकालाई निबेदन गरिएको बजार व्यवस्थापन तथा राष्ट्रिय प्रसारण लाईन जडान संघर्ष समितिका संयोजक बिरेन्द्र भट्टले बताए।
नगर क्षेत्रमा सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाले विद्युतको कार्य गरेपनि आवश्यक अनुसारको विद्युत आपुर्ति हुन नसकेको बजार ब्यवस्थापन समिति उपाध्यक्ष बिजय सिह नायकले बताए। सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाको भरमा व्यापार, व्यवसायीहरुले विभिन्न विद्युतबाट चल्ने उपकरणहरु ल्याएका छन्। उपकरण सञ्चालनमा ल्याइसकेपछि बीचबीचमा बिद्युत आउने जाने गर्दा विद्युतीय उपकरणहरु समेत विग्रिने समस्या बढेको जनाईएको छ।
समय–समयमा विद्युत अबरुद्ध र विद्युतको आपुर्ती हुन नसक्दा व्यापार व्यवसाय गर्नै समस्या भइरहेको ब्यापारि हरुको भनाई रहेको छ। सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै शनिबार राष्ट्रिय प्रसारण लाईन जडान गर्न माग गर्दै संघर्ष समिति गठन गरिएको थियो।
संघर्ष समितिको संयोजकमा बिरेन्द्र भट्ट, उपसंयोजकमा सुरत पार्कि चयन भएका थिए। यसैगरी संघर्ष समितिको सचिवमा गणेश दत्त भट्ट, सदस्यहरुमा रमेश ओझा, नरहरी चन्द, मनि दत्त ओझा, केशव सिंह विष्ट, कृष्ण सिंह भण्डारी, राजेन्द्र सिंह विष्ट, सुरेन्द्र बहादुर चन्द, कैलाश महर, बलराम विष्ट र प्रकटराम दमाई चयन भएका थिए।
