बैतडी ।
महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका नगरपालिका २ रौतेउडाका ३० वर्षीय खेमराज कपाडी रहेका बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
खेमराज आज दिउँसो साढे १ बजेतिर सलसेना भीरमा से ४ प ३४७५ नम्बरको मोटरसाइकलसहित मृत भेट्टिएका हुन् । शैल्यशिखर नगरपालिकामा कृषि सहायक प्रावधिकका रहेका कपाडीलाई वडा नम्बर २ मा वडासचिवको जिम्मेवारी दिइएको थियो । कपाडी आइतबार बिहान डडेल्धुरामा एक तालिलमा सहभागी हुनका लागि हिडेका थिए । घरबाट हिडेर डडेल्धुरा नपुगेपछि कपाडीको खोजी कार्य गर्दा सोमबार दिउँसो सल्सेना भीरमा मृत भेट्टिएका हुन् ।
सडकबाट २०० मिटर तल भीरमा मोटरसाइकल र १५० मिटर तल कपाडी मृत भेट्टिएका हुन् । मोटरसाइकलमा खेमराज एक्लै सवार रहेका बताइएको छ । अविरल वर्षाका कारण मौसम खराब रहेका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
कपाडी मृत भेट्टिएपछि इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलतर्फ गएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।