बैतडीमा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामा थापा–थापाको जोडी प्रथम

बैतडी । संविधान दिवसको अवसरमा पारेर बैतडी सदरमुकाममा आयोजना गरिएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगितामा बैतडीको दशरथचन्द नगरपालिकाका कैलाश थापा र आनन्द थापाको जोडी प्रथम भएको छ। नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्व्यमा असोज १ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो।

प्रतियोगितामा सन्तोष कनौजीया र लोकेश ठगुन्नाको जोडी दोश्रो भएको छ। यस्तै चन्द्रसिंह डोबाल र भवानी भट्ट तथा अंकित जोशी र हरिश भण्डारीको जोडी तेश्रो भएको छ।

प्रतियोगितामा सीमावर्ती भारतीय क्षेत्र झुलाघाट र पिथौरागढका खेलाडीसहित बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका ३१ जोडीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ। दोश्रो हुने जोडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको चन्दले बताए।

प्रतियोगितामा तेश्रो हुने दुवै जोडीलाई नगद ५/५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै प्रतियोगितामा उदीयमान खेलाडीको रुपमा संगम ठगुन्ना, सुशान्त राना, लखन थापा र रितेश केसीलाई १÷१ हजार नगद पुरस्कार प्रदान गरिएको छ। यस्तै सिनियर खेलाडी सरपसिंह ठगुन्नालाई पनि १ हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष चन्दले बताए।

दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगितामा समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइ प्रमुख अतिथी रहेका थिए। प्रतियोगिताको समापन सत्रमा जिल्ला न्यायधिश जयानन्द पनेरु र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी बिशिष्ट अतिथी रहेका थिए। प्रतियोगिताका विजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथी र बिशिष्ट अतिथीले पुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.