बैतडी-बैतडीमा जारी तेस्रो संस्करणकाे पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटमा आज पनि ३ खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा पाटन भ्यालि क्रिकेट क्लबले उदयदेव क्रिकेट क्लबलाई हराएको छ । दोश्रो खेलमा थालिगडा क्रिकेट क्लबले खोडपे स्पोट्स क्लबलाई हराएको छ भने तेश्रो खेलमा टिम क्वालीटी दोगडाकेदारले पुर्चाैडी नगरपालिलाई हराएको छ ।
पहिलो खेलमा उदयदेवका बिरुद्ध टस जितेर ब्याटिङ गरेको पाटन भ्यालीले १५ ओभरमा १९० रन बनाएको थियो । पाटनका सन्दीप बिष्टले ६५ रनको अर्धसतकीय पारी खेले ।
१९१ रनको विजयी लक्ष पछ्याएको उदयदेव ६३ रनमा समेटियो । उदयदेवलाई सस्तैमा समेट्न पाटनका प्रदीप टमटाले ४ विकेट लिए । उनि नै म्यान आफ द म्याच चुनिए ।
यसैगरी आजै भएको दोश्रो खेलमा खोडपेका बिरुद्ध टस हारेर ब्याटिङ गरेको थालीगडाले १५ ओभरमा २ विकेट गुमाएर २१८ रन बनायो । थालीगडाका खडक बोहराले १४१ रन बनाए ।
२१९ रनको लक्ष पछ्याएको खोडपेले १५ ओभरमा ६ विकेट गुमाएर १४७ रन मात्रै बनायो । खोडपेका जतिन थापाले ४३, दिपक बोहरा र जनक बिष्टले समान ३१÷३१ रन बनाए । थालिगडाका खडक म्यान आफ द म्याच चुनिए ।
आजै भएको तेश्रो खेलमा पुर्चाैडी नगरपालिकाका बिरुद्ध टिम क्वालीटी दोगडाकेदारले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित १५ ओभरमा दोगडाकेदारले ६विकेट गुमाएर २०८ रन बनायो । दोगडाकेदारका सचिन साउँदले ४१, जिवन कार्कीले ३४, निरज ऐरीले ३० तथा सुदिप कार्कीले २८ रन बनाए ।
२०९ रनको विजयी लक्ष्य पछ्याएको पुर्चाैडीले १५ ओभरको समाप्तीमा १२९ रन मात्रै बनायो ।
दोगडाकेदारका सचिन साउँद म्यान आफ द म्याच चुनिए । पाटन क्रिकेट क्लबकाे आयाेजनामा कात्तिक १२ गतेदेखि सुरु भएकाे प्रतियोगितामा १७ टाेलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताकाे विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।