बैतडीको पाटनमा सम्पन्न तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा टिम क्वालिटी कैलपाललाई ४० रनले पराजित गर्दै उपाधि उचालेको हो। उपाधी उचालेको मेलौलीले प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरी द्धितिय भएको कैलपालले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
मेलौलीले दिएको २१४ रनको लक्ष पछ्याउने क्रममा कैलपालले १८।१ बलमा अलआउट हुदै १७३ रनमा समेटियो। कैलपालका दिनेश बिष्टले ४६रन बनाएका थिए। अन्य ब्याटर चल्न नसक्दा कैलपाल पराजित हुन पुग्यो । मेलौलीका नरेन भट्टले ३ विकेट लिए ।
यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको मेलौलीले निर्धारित २० ओभरमा ९ बिकेट गुमाउदै २१३ रन बनाएको थियो। मेलौलीका अभिषेक पालले सतकीय पारी खेले उनले ४४ बलको समाना गरेका थिए। मेलौलीका नरेन भट्टले ३५ रन बनाए। पहिलो विकेटका लागि नरेन र अभिषेकले १५४ रनको साजेदारी गरेका थिए। कैलपालका प्रदिप चन्दले ३ विकेट लिए।
मेलौलीलाई जिताउन महत्वपूण भूमिका निर्वाह गरेका अभिषेक म्यान अफ द फाइनल चुनिए। यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कैलपालका प्रदिप चन्द उत्कृष्ट ब्याट्सम्यान सहित म्यान आफ द सिरिज चुनिए। उनले म्यान अफ द सिरिजको २२,२२२ तथा बेस्ट ब्याट्सम्यानको ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी कैलपालकै लोकेन्द्र बहादुर चन्द प्रतियोगिताका उत्कृष्ट बलर चुनिए। उनले ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।