बिडिसिए कप क्रिकेट: दशरथचन्द एकेडेमीको विजयी शुरूवात

बैतडी-बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि समूह सि का खेल शुरू भएका छन्।
समूह सि को पहिलो खेलमा दशरथचन्द एकेडेमीले ग्वाल्लेक क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १३४ रनको लक्ष्य एकेडेमीले १९. ४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। जसमा सुदीप टमाटाले अर्धशतकीय पारी खेले। म्यान अफ द म्याच भएका सुदीप ५६ बलमा ११ चौकाको मद्दतमा ५९ रनमा अविजित रहे। ग्वाल्लेकका तर्कराज जोशीले २ विकेट हात पारे।
यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक २९।३ ओभरमा १३३ रनमा समेटियो । उसका महेशराज जोशीले ४१ र हेमराज जोशीले अविजित २९ रनको पारी खेले।एकेडेमीका लागि अनुराग चन्दले ४ विकेट झारे।

समूह ए बाट एनआरवाइसी बठ्ठा र समूह बी बाट निङलाशैनी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेको छ।बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो। प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.