बैतडी-तीन दशकदेखि अलपत्र अवस्थामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको स्थलगत अवलोकन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा कैलाली निर्वाचन क्षेत्र नं. ५ का डा. आनन्दबहादुर चन्द र कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र महता सहित स्थानीय जनप्रतिनिधिले परियोजनाको स्थलगत अवलोकन गरी अवस्थाबारे जानकारी लिएका हुन्।
स्थलगत अवलोकनका क्रममा परियोजनाको वर्तमान अवस्था, बैतडीको तल्लो स्वराड क्षेत्रका विभिन्न समस्या तथा पाटन–पञ्चेश्वर सडकको विषयमा छलफल भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
लामो समयदेखि चर्चामा रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएको महत्वपूर्ण आयोजना हो। नेपाल र भारतबीच प्रस्तावित यस परियोजना कार्यान्वयनमा आउन सके जलविद्युत् उत्पादन लगायत विभिन्न क्षेत्रमा लाभ पुग्ने अपेक्षा गरिएको छ। तर, लामो समय बितिसक्दा पनि परियोजनाले अपेक्षित गति लिन नसक्दा यसको कार्यान्वयनको विषय चासोको केन्द्रमा रहँदै आएको बताईएको छ ।
परियोजनाको स्थलगत अवलोकनका क्रममा यसको वर्तमान अवस्था र कार्यान्वयनसँग सम्बन्धित विषयमा जानकारी गराइएको गाउँपालिका अध्यक्ष चन्दले बताए। परियोजना अघि बढ्न सके यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको अध्यक्ष चन्दको भनाई छ ।
अध्यक्ष चन्दले भने, छलफलका क्रममा समग्र बैतडीको तल्लो स्वराड क्षेत्रका समस्या तथा विकास निर्माणका विषयमा समेत कुराकानी भएको छ। तल्लो स्वराड क्षेत्रमा सडक यातायात, पूर्वाधार विकास तथा स्थानीयवासीले भोग्दै आएका विभिन्न समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने विषयमा छलफल भएको हो।
सांसदद्वय तथा स्थानीय जनप्रतिनिधिबीच भएको छलफलले पञ्चेश्वर परियोजनाको अवस्था, तल्लो स्वराड क्षेत्रका समस्या र सडक पूर्वाधारका विषयलाई सम्बन्धित निकायसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए।
लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका विकास निर्माणसम्बन्धी विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्नुपर्नेमा स्थानीयस्तरमा जोड दिइँदै आएको छ।