पिएम कप क्रिकेट : अछामको सान्त्वना जित

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ। सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो।

जितका लागि पाएको १४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५।२ ओभरमा ८८ रनमा समेटियो। उसका सनम बुढाथोकीले २१,सुशील रावल र अशोक धामीले १५र१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८।४ ओभरमा १३९ रनमा अलआउट भयो। जसमा कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे। बझाङका भरत चन्द,सुशील रावल र प्रकाश रोकायाले २र२ विकेट लिए।

अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो। योजित संगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ। प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नुपर्नेछ।

प्रतियोगिता अन्तरगत शनिवार बैतडी र कञ्चनपुर प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ।

No description available.

Leave A Reply

Your email address will not be published.