आइसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको छ। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४४।४ ओभरमा पूरा गरेको हो।
समूह डीको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेसँगै नेपालले सुपरसिक्सको यात्रा तय गरेको हो। यो समूहबाट पाकिस्तान र न्युजिल्याण्डले यसअघि नै सुपर सिक्सनको यात्रा तय गरिसकेका छन्। समूह चरणबाट विदा भएको अफगानिस्तानले १३ औं स्थानका लागि प्रतिस्पर्धा गर्ने छ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०।१ ओभरमा सवै विकेट गुमाएर १४५ रन बनाएको थियो। ८८ रन बनाउँदा ८ विकेट गुमाएको अफगनिस्तानले नवौं विकेटका लागि फरिदोन दाओदाजी र नासेर खानले ५५ रनको साझेदारी गर्दै अफगनिस्तानले अघि बढाएका थिए।
अफगानिस्तानका कप्तान नासेरले ३१ तथा एम गजनफारले ३७ रन जोडे। यसैगरी हसन इसाखिलले २० रन जोड्दा अन्त्यमा फरिदोनले २९ रनको पारि खेलेपछि अफगानिस्तानले फाइटिङ स्कोर खडा गर्न सफल भएको थियो।
नेपाली बलरले २१ रन अतिरिक्त दिएका थिए। अफगानिस्तानलाई रोक्ने क्रममा आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए। यसैगरी दीपेश कँडेलले २ विकेट लिँदा गुलसन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए।
१४६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मुस्किलले जित निकाल्न सफल भयो। व्यक्तिगत १० रन बनाएर अर्जुन कुमाल आउट भएपछि नेपालको विकेट पतनका शृंखला सुरु भएको थियो । त्यसलगत्तै गुलसन झा व्यक्तिगत १ रन बनाएर पभेलियन फर्किए।
२४ रन बन्दा नेपालले तेस्रो विकेट खेर फाल्न पुग्यो। नेपालका विपिन रावल २ रन बनाएर आउट भएका थिए । देव खनाल र आकाश त्रिपाठी मिलेर नेपालको स्कोर बोर्ड चलायमान बनाए। यी दुईबीच ९० बलमा ४९ रनको साझेदारी भएको थियो। चौथो विकेटको रुपमा आकाश त्रिपाठी व्यक्तिगत १६ रन जोडेर आउट भएका थिए । पाँचौं विकेटको रुपमा दीपक डुम्रे ५ रन बनाएर आउट भएका थिए । यस्तै छैटौं विकेटको रुपमा दीपेश कँडेल आउट हुँदा उनको ब्याटबाट ४ रनमात्र बन्यो। एक छेउँमा अडिएका कप्तान देव खनालले अर्धशतकीय पारि खेल्दै नेपाललाई अघि बढाएका थिए। उनी सातौं विकेटको रुपमा टिमको स्कोर १२७ रन पुगेको थियो। खनालले ८९ बल फेस गर्दा ७ चौका प्रहार गर्दै ५८ रनको पारि खेलेर पभेलियन फर्किए।
अन्त्यमा दीपक बोहोरा र सुवास भण्डारी मिलेर नेपाललाई अफगानिस्तानविद्ध जित नजिक लगेका थिए। जितका लागि ६ रन आवश्यक परेका बेला दीपक बोहोरा ४२ बलमा २७ रन बनाएर आउट भएका थिए। अन्त्यमा सुवास भण्डारी र तिलक भण्डारीले नेपाललाई जित दिलाए। सुवास ९ तथा तिलकले खाता नखोलेर नटआउट रहे।
अफगानिस्तानका फरिदोनले ३ विकेट लिँदा खलिल अहमद, र नासेर खानले दुई दुई विकेट लिए।