बैतडीमा यु-१६ क्रिकेट: दशरथचन्द एकेडेमी च्याम्पियन

बैतडीमा सम्पन्न सोह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द एकेडेमीले हात पारेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा निङलाशैनी क्रिकेट क्लब (एनसीसी) माथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै एकेडेमी च्याम्पियन बनेको हो।

एनसीसीले दिएको ८४ रनको झिनो लक्ष्य एकेडेमीले २१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। जसमा नवीन थापाले २४ र सुमित कार्कीले २१ रनको योगदान गरे। एनसीसीका कप्तान विक्रम बोहरा र वसन्त बोहराले २र२ विकेट हात पारे।

यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको एनसीसी १७।३ ओभरमा ८३ रनमा अलआउट भयो। उसका कप्तान विक्रम बोहरा ३४ रनमा अविजित रहेपनि अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। एकेडेमीका नवीन थापाले ४ विकेट लिए। नवीन म्यान अफ द फाइनल पनि चुनिए ।

प्रतियोगिताभर २५५ रन र १२ विकेट हात पारेका एनसीसीका कप्तान विक्रम बोहरा म्यान अफ द सिरिज भएका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो।

उपाधिसंगै एकेडेमीले १६ हजार पुरूस्कार पायो भने एनसीसीले १० हजारमा चित्त बुझायो। म्यान अफ द सिरिजले २५०० पाए। विजेता उपविजेता खेलाडीलाई बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,सचिव सिद्धराज बोकटीलगायतले पुरूस्कार वितरण गर्नुभयो ।

सहिद दिवसको उपलक्ष्यमा बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानको सहआयोजनामा माघ ९ गतेदेखि प्रतियोगिता शुरू भएको थियो।

उमेर समूहको यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.