बैतडीको मेलौलीका दृष्टिविहिन मदनराज भट्टलाई कपडा बैंकले न्यानो लुगा सहयोग गरेको छ। मेलौली नगरपालिका-६ लामालेकका दृष्टिविहिन भट्टलाई कपडा बैंकले शुक्रबार कम्बल र न्यानो लुगा सहयोग गरेको हो। भट्टको घरमै पुगेर कपडा बैंकबाट न्यानो लुगा सहयोग गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले बताए।
यस्तै दृष्टिविहिन भट्टलाई नगद सहयोग समेत हस्तान्तरण गरिएको गरिएका कपडा बैंकका संयोजक भट्टले बताए। बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, सशस्त्र प्रहरी बल बैतडीका सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्णसिंह पुजारा, कोष तथा लेखा नियन्त्रक प्रमुख मदन मगराती र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नरेन्द्र अवस्थीले नगद सहयोग हस्तान्तरण गरेका छन् ।
६० बर्षीय भट्ट दृष्टि गुमाएको ३० बर्षदेखि एक्लै बस्दै आएका छन्। न्यानो लुगा र नगद सहयोग भएपछि भट्टलाई केही राहत भएको छ। समस्यामा परेका यस्ता नागरिकहरुको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जानु आवश्यक रहेको कपडा बैंकका संयोजक भट्टले बताए।
समाजमा एकसरो लुगा समेत किन्न अवस्था नागरिक भएकाले कपडा बैंकको अवधारणा अघि ल्याएको उनले बताए। यही माघ १ गतेदेखि सञ्चालनमा रहेको कपडा बैंकले अहिले सम्म २ सय ५० भन्दा बढी व्यक्तिहरुलाई सहयोग गरिसकेको छ।