बैतडी : १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मेलौली नगरपालिकाले जितेको छ। जिल्ला खेलकुद समितिको आयोजना र मेलौली नगरपालिकाको सह–आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उपाधी मेलौली नगरपालिकाले हात पारेको हो।
मेलौली १४ स्वर्ण ७ रजत र ४ कास्य गरि २४ पदकका साथ च्याम्पियन भएको जिल्ला खेलकुद समितिका कार्यक्रम प्रमुख तर्कराज जोशीले बताए। यसैगरी ६ स्वर्ण ३ रजत र ६ कास्य गरि १५ पदकका साथ पुर्चौडी नगरपालिका उपबिजेत बनेको छ। प्रतियोगिताको तृतीय दोगडाकेदार बनेको छ। ६ स्वर्ण ३ रजत ५ कास्य गरि १४ पदकका सात तृतीय भएको जिल्ला खेलकुद समिति अध्यक्ष चमन कुमार भण्डारीले बताए।
प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, लगायतका खेल भएका थिए। आज एक कार्यक्रमका बीच प्रतियोगिताका बिजेता टिम र खेलाडीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा यहि माघ २६ गतेबाट सञ्चालन भएको थियो।
प्रतियोगितामा १० स्थानीय तहका एकहजार बढी खेलाडी र प्रशिक्षक सहभागी भएका थिए। बास बस्नको लागि सबै पालिकाका खेलाडी लगायत प्रतिनिधिहरुलाई छुट्टाछुट्टै होटलको व्यवस्था मिलाईएको थियो।
प्रतियोगिताको पुर्वमन्त्री तथा संघीय सांसद दामोदर भण्डारीद्धारा उद्घाटन गरेका थिए। उद्धघाटन समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, १० ओटै पालिकाका प्रमुख तथा उपप्रमुख सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
मेलौलीले गत बर्ष पनि १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पारेको थियो। मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।