गरिबको सहारा बन्दै कपडा बैंक

बैतडी । करिब एक महिना अघिमात्रै श्रीमान गुमाएकी मेलौली नगरपालिका–७ की सकुन्तला पोखरेलको आर्थिक अवस्था निकै जर्जर छ। खान लाउन नै समस्या भएपछि पाइल्स रोगबाट ग्रसीत श्रीमान भारतको पिथौरागडमा रोजगारी गर्दै आएका थिए। रोगजारीकै क्रममा ३ हप्ता पहिले मात्रै सकुन्तलाका श्रीमानको भारतमा मृत्यु भयो। मृतक श्रीमानको शव ल्याउन समेत आफन्तको सहयोग मागेकी सकुन्तलाले आफ्नो र छोराछोरीको आंङमा एकसरो न्यानो लुगा किन्न सक्ने सामाथ्र्य कहाँ थियो र।

खान लाउन नै मुस्किल परेको अवस्थामा बैतडीमा हालै खुलेको कपडा बैंकले सकुन्तलालाई न्यानो लुगा उपलब्ध गराएको छ। गत बुधबार सरस्वती पूजाको दिन जिल्लामा हालै सञ्चालनमा आएको कपडा बैंकले सकुन्तलासहित १३ जनालाई न्यानो लुगा वितरण गरेको हो। सकुन्तलाको परिवार जस्तै आर्थिक सहयोग निकै न्युन भएका परिवारका सदस्यलाई कपडा बैंकले न्यानो लुगा वितरण गरेको कपडा बैंकका संयोजक महेश दत्त भट्टले जानकारी दिनुभयो।

खान लाउन निकै समस्या हुने गरेको अवस्थामा चिसो छल्न न्यानो लुगा पाएपछि लाभग्राही निकै खुशी दखिन्थे। ‘आर्थिक अवस्था निकै नाजुक छ, खान लाउनको लागि आफन्तको सहयोग माग्ने गरेकी छु, अहिले न्यानो लुगा पाए, निकै खुशी छु,’ हर्षका आँसु झार्दै सकन्तलाले भन्नुभयो।

कपडा बैंकले आर्थिक अवस्था दयनीय भएका परिवारलाई घरमै पुगेर पनि न्यानो लुगा वितरण गर्ने गरेको छ। शुक्रबार पनि जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोटकी जन्तरा टमाटाको घरमै पुगेर न्यानो लुगा वितरण गरिएको छ। बैंकका संयोजक भट्टले जन्तरा र तारा दमाईलाई भेटेरै न्यानो लुगा वितरण गरेका हुन।

हुनेहरुले कपडा बैंकलाई न्यानो लुगा उपलब्ध गराउने गरेका छन भने नहुनेहरुलाइ घरसम्मै पुगेर कपडा बैंकले न्यानो लुगा वितरण गर्ने गरेको छ।

माया घर नेपाल र स्थानिय युवाहरुको अगुवाइमा कपडा बैङ्क स्थापना भएपछि यहाका अतिविपन्न, अपाङ्ग, एकल महिला तथा आमाबुवा गुमाएका टुहुरा बालवालिकाका लागी कपडा बैङ्क सहारा बन्दै गएको छ। जिल्लाको १० वटै पालिकाभित्र रहेका अति विपन्न, एकसरो लुगा समेत किन्ने अवस्था नभएका नागरीकहरुलाई कपडा बैङ्कले न्यानो लुगा दिदै आइरहेकोे कपडा बैङ्का संयोजक भट्टको भनाइ छ।

“हुनेले दिएर सहयोग गरौं, नहुने लगेर सहभागिता जनाऔं” भन्ने नारासहित कपडा बैंकमार्फत लुगा वितरण गर्ने कार्य भइरहेको कपडा बैंकले जनाएको छ। माघ १ गतेबाट सञ्चालनमा आएको कपडा बैङ्कबाट एक महिनाको अवधिमा ३०० जना अतिविपन्न वर्गले सेवा पाइसकेको समेत संयोजक भट्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.