बैतडी-कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोलीले विजयी शुरूवात गरेको छ। सुखद शुरूवात गर्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले हरायो।
सुदूरपश्चिमले दिएको १७३ रनको लक्ष्य पछ्याएको गण्डकी १७।४ ओभरमा १३२ रनमा अलआउट भयो। उसका दीपक डुम्रेले सर्वाधिक ४० रनको योगदान गरे। सुदूरका लागि कप्तान हेमन्त धामीले ३,शेर,मल्ल,नरेन साउद र नारायण जोशीले २र२ विकेट हात पारे।
त्यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १७२ रन बनायो ।
जसमा नरेन भट्टले अविजित ६२, किरन ठगुन्नाले अविजित ५३ र खडक बोहराले ४१ रन जोडे। गण्डकीका लागि अमृत गुरूङ र सन्दीप क्षेत्रीले १र१ विकेट हात पारे। सुदूरपश्चिमका नरेन भट्ट म्यान अफ द म्याच घोषित भए।
क्रिकेट संघ मोरङको आयोजनामा आजदेखि शुरू भएको प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहेको छ।
चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित ५ र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने जनाइएको छ।