दार्चुला जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै एक जना थुनुवा भागेका छन्।
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट एक जना थुनुवा भागेर भारततिर पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय पछाडिको भागबाट हाम फालेर महाकालीमा पौडी खेलेर ती थुनुवा भारततिर पुगेका थिए। त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट ९जीआर० ले नेपालबाट भागेर गएका व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ।
थुनाबाट भाग्नेमा महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर रहेको बुझिएको छ। कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवानसमेत भिरमा खसेर घाइते भएका थिए।
तर भिरबाट खसेर गम्भिर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। थुनुवा भाग्ने क्रममा उनलाई पक्रन खोज्दा भिरबाट लडेर प्रहरी जवान चौधरी गम्भीर घाइते भएका थिए। तर केहि समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।