काँग्रेसले लगाएको आरोपको जवाफ दिने पर्खाइमा छु : उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताउनुभएको छ। शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै काँग्रेसले सदन अवरुद्ध पारेपछि उहाँले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनासाथ सदनमा दिने बताउनुभएको हो।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेको प्रश्नसहित काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा रहेको बताउनुभयो।

उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्याण्डेटको शक्तिमा काम गरिरहने बताउनुभयो। उहाँले सुन तस्करीमा संलग्न जो कोहीलाई कारवाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि बताउनुभयो।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘जवाफ दिन तयार छु । सभामुखको रुलिङको प्रतिक्षा गरिरहेको छु । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गरिसक्नु भएको छ। अव यत्रा चिजहरु छन । यही एउटा चिज मात्र काँग्रेसले पाएको भए काँग्रेसलाई गफ गर्ने चिजहरु आज बेलुकाबाट पनि आउँछ । सुन तस्करीको विषयमा प्रतिपक्षमा हँुँदाखेरीदेखि नै उठाएको विषय यहाँहरुलाई अवगत नै छ। यो त्यतिखेर बनेको एउटा आयोग हो । त्यो आयोगले प्रतिवेदन बुझाएको छ। बुझाएको प्रतिवेदनमा मेरो हात पर्र्ने बित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाएर र प्रधानमन्त्रीले गो अ हेड जे छ त्यही भनिसकेपछि त्यस सम्बन्धि कुरा अगाडि बढेको छ। काँही कतै कसैसँग कुनै कम्पमाइज हुँदैन। आयोगले दिएको प्रतिवेदनमा भएका विषयवस्तुमा टेकेर रिइन्भेष्टिगेशन हुन्छ। जजसलाई उन्मुक्ति दिन खोजिएको छ । उन्मुक्ति दिनेहरुमाथि पनि कारवाही हुन्छ।’ उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो।

‘म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन। तर मेरा लागि आजको दिन अन्तिम दिन हो भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिवद्ध भएर आएको छु। केही गरौं भनेर, केही राम्रो काम गरौं भनेर । सुशासनको प्रत्याभूति दिउँ भनेर आएको हुनाले त्यसमा मलाई केही पनि भन्नु छैन । निमर्म ढंगले प्रतिवेदनले दिएका विषयहरुमा हामी कारवाहीको प्रक्रिया अघि बढाउँछौं । आजैबाट सुरु हुन्छ । काँग्रेसले जवाफ पाइरहन्छ। 

उपप्रधानमन्त्री लामिछानेले सुन तस्करीमा संलग्नहरुले कसैले पनि उन्मुक्ति नपाउने पनि बताउनुभयो।

Leave A Reply

Your email address will not be published.