बैतडी: शिबनाथ गाउँपालिका–०६ बसेडिभ्वामा महिलालाई आत्मनिर्भर बनाउन सञ्चालन गरिएको सिलाई कटाई तालिम सम्पन्न भएको छ। आर्थीक बर्ष २०८०/०८१ को बजेटबाट वडा कार्यालयको आयोजनामा सञ्चालन भएको ४५ दिने तालिम सम्पन्न भएको वडा अध्यक्ष भरतराम पार्कीले बताउनुभयो।
लक्षित बर्ग कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम सञ्चालन गरिएको जनाईएको छ। तालिममा १३ जना महिलाहरु सहभागि भएका थिए। सहभागि महिलाहरुलाई करन रानाले प्रशिक्षण दिनुभएको वडा अध्यक्ष पार्कीले बताउनुभयो।
सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। जीवनयापनका लागि सीप महत्वपूर्ण रहेकाले व्यवसायिक तरिकाले सिलाई कटाई गर्न सकिने वडा सचिव राज बहादुर चन्दले बताउनुभयो।
महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो खुलेको जनाईएको छ। तालिमको अवधिभर सिक्ने सिकाउने क्रममा उत्पादन भएका कपडाहरु वडा भित्रका बिपन्न नागरीकहरुलाई वितरण गरिने वडा अध्यक्ष पार्कीले बताउनुभयो।