सुदूरपश्चिममा सुरक्षा तथा विपद् व्यवस्थापनबारे मुख्यमन्त्री शाहको छलफल

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा अवस्था तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन्।

मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटना र मनसुनका कारण प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो तथा डुबानलगायतका विपद्बारे छलफल भएको हो।

बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिराहामा दुई समुदायबीच भएको झडपमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सुनसरी, सिराहालगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव सुदूरपश्चिममा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्न सार्वजनिक अपिल गर्ने निर्णयसमेत गरिएको छ। साथै, सबै जिल्लामा सद्भाव र्‍याली आयोजना गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई सूचित गरिएको छ।

सम्भावित अशान्ति तथा सुरक्षा चुनौतीलाई ध्यानमा राखी सुरक्षा निकायलाई पूर्वसतर्कता अपनाउन, आवश्यक तयारी अवस्थामा रहन तथा मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

बैठकमा प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल, सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति उपरथी किरण केसी, उपरथी पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ वाहिनीका बहिनीपति दिग्बिजय सुवेदीलगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.