बैतडी–बैतडीको देहीमाण्डौंमा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकाको ‘ए’टीम फाइनलमा प्रवेश गरेका छन्।
सिगास गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै मेलौली फाइनलमा पुगेको हो भने सुर्नया गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै दशरथचन्द नगरपालिकाको ‘ए’टीम फाइनलमा पुगेको हो ।
महिला र पुरुष दुवैको फाइनल खेल भोलि हुने भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए । महिलातर्फ मेलौली र शिवनाथ यसअघि नै फाइनलमा प्रवेश गरिसकेका छन् ।
यस्तै पुरुषतर्फ तश्रो स्थानका लागि सुर्नया र सिगासबीचको खेल भोलि बिहान हुने उनले बताए ।
यस्तै महिलातर्फ दनपाको टीमले तृतीय स्थान हात पारेको छ । पुर्चौंडी नगरपालिकाको टीमलाई ३–० ले पराजित गर्दै दनपाले तृतीय स्थान हात पारेको हो ।
भोलि (मंगलबार) फाइनल खेलसंगै समापन समारोहको समेत आयोजना गरिनेछ । उक्त समारोहमा विजेता टीमहरुलाई पुरस्कार, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल खेलकुद महासंघको आयोजनामा भइरहेको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैयाँ रहेको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ । यो पुरस्कार महिला र पुरुष दुवैतर्फ समान रुपले प्रदान गरिनेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए।
प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष चन्दले बताए।