थाहा छैन आजकल मलाई सबै परिवर्तन भए जस्तो लाग्दै छ। मलाई यो दुनियाँ देखेर दिक्क लाग्न थालिसक्यो। हिजो सफल बनेर आउछु भन्दै घरबाट निस्केको म आज शहरको यो कोलाहलभित्र हराएर बसेको छु। सपनाका कुरा गर्दागर्दै नथाक्ने म यहाँ गन्तव्य भुलेर बस कोठाभित्र कोल्टो फेर्दै बसेको छु। लाग्छ मेरो भविस्य अनिश्चित छ आज सम्म पनि। उमेर बढिराछ गर्न केही सकेको छैन। हिड्न कतै मन लाग्दैन। कोहि मलाई बुझ्ने मान्छे पनि छैनकि जस्तो लाग्छ। अनि कसैको बिस्वास पनि लाग्दैन। सधै हासिरहने म आजकल रोईरहन्छु मात्र। सबैको माझमा रमाईरहने म आजभोली एकान्त कोठामा आफ्नै कोठाभित्र हराईरहन्छु।
टुटेको छ मन। भत्किएका छन सपनाहरु। हात खुट्टा काप्दै छन अभावै अभाव देखेर। जिन्दगी देखी हार्दै छु म बिस्तारै । खै कती सहनु अब अत्ति भईसक्यो । चोट नपाएको अनि नखाएको कुनै दिन नै छैन। अब कति मौनतामा बस्नु। पीडाले चिच्याएर सुत्न नसकेको कुनै रात नै छैन। लडेपछि एक्लै उठ्न सक्ने साहस थियो मनमा तर आजकल त्यो साहस पनि कतै डगमाएको छ। अनगिन्ती सोच, अनगिन्ती रहर, अनगिन्ती बाध्यता अनि एक्लो म। मलाई गार्हो भएको छ यो समयको प्रत्यक मिनेट बाचेको जस्तो गर्न। मलाई मेरो जिन्दगीको कुनै मोह छैन। डर लाग्छ कतै आमा बा माथी समाजले प्रश्न पो उठाउने हुन कि भनेर। मेरो छोरा यस्तो छ भन्दै हिड्नेलाई कस्तो हुतियारा जन्माईछस भन्ने पो हुनकि। खुल्ला आकाशमा स्वतन्त्र पन्छि झै उड्ने रहर हुँदाहुँदै पनि म सिमित शहरको यो एउटा गल्ली भित्र बरालिएको छु।
खासमा मेरो स्वाभिमान कतै लुकेको छ। आत्मविश्वास सहरका हरेक चोकहरुमा छरिएको छ। किताबका अक्षरहरु आँसुसगं मुछिएका छन। कलमहरुबाट रगतको मसि बनी कोरिएका छन। थाहा छैन कमजोरी काहानिर भयो। गलत म कहाँ भए। आजकल यात्रा रोकिएको छ। गन्तव्य बालापन मै छोडिएर अन्तिम बिकल्प चिहान बन्ने पो होकि भनेर सपना मात्र देख्छु। म मान्छेबाट अरु केहि बन्न चाहान्छु तर कसरी?