सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ। सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ।
अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो। लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उहाँले बजेट पेस गर्नुभयो। प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक २०८१ पनि पेस गर्नुभयो। प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन जेठ २०, २१ र २२ सम्म बजेटमाथि छलफल हुनेछ।
प्रतिनिधिसभामा जेठ २३ मा अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनुहुनेछ। त्यसअघि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुहुनेछ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बजेटमा छलफलका लागि आइतवार दिउँसो सवा १ बजे बैठक बोलाउनुभएको छ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ।