बैतडी: पञ्चेश्वर गाउँपालिका बैतडीको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको १५ औं अधिवेशनको दोस्रो बैँठकले आगामी आर्थिक वर्षको बजेट पारित भएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले घोषणा गरे।
गाउँपालिका उपाध्यक्ष बिना भट्टले आगामी आर्थिक वर्षका लागि ४० करोड ५३ लाख रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेकी थिइन्। बृहत छलफलसहित बजेट पारित भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रामसागर शाहले बताए।
मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको उक्त बैठक आर्थिक ऐन समेत पारित गरेको छ। पञ्चेश्वर गाउँपालिकामा जनसंख्याका अधारमा वडागत बजेट विनियोजन गरिएको जनाएको छ। कम जनसंख्या भएकोमा ४० लाख र बढी जनसंख्या भएको वडामा ७५ लाखसम्म दिएको उपाध्यक्ष भट्टले बताइन्।
बजेट शाखागत र वडागतरुपमा केही दिनभित्र गाउँपालिको आफ्नो अनलाईन पोर्टलबाट प्रकाशित गर्ने जनाएको छ।