बैतडी -आज अगस्ट १, आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह शुरु भएको छ ।हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ ।
शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो ।
‘स्तनपान ‘समानताः सबैको सहयोग र सहभागीता’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईँदैछ ।
स्तपानको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले विश्वभरी स्तनपानको महत्व र यसका आवश्यकताको विषयमा चर्चा गर्दै यो सप्ताह मनाउने गरिन्छ ।
जन्मिने वित्तिकै आमाको स्तनपान गर्न पाउनु बच्चाको नैसर्गिक अधिकार हो । बच्चालाई जन्म दिइसकेपछि आमाको शुरुको दुध बच्चाको लागि अमृत समान मानिन्छ ।
आमाको दुधबाट बच्चाको शारिरीक क्षमताको विकास गर्नुका साथै विभिन्न रोगहरुसँग लड्नका लागि प्रतिरोधी क्षमताको समेत विकास गर्ने विज्ञहरु बताउँछन् ।त्यसैले बच्चा जन्मेको एक घन्टाभित्रमा आमाको बिगौती दुध ख्वाउनुपर्ने स्वास्थ्यकर्मीहरुले भन्दै आएका छन् ।
बच्चा जन्मेको ६ महिनासम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधबाटै प्राप्त हुने भएकोले आमाको दुध मात्र ख्वाउनुपर्दछ । ६ महिनापछि अन्य पोसिलो खानासँगै दुई वर्षसम्म पनि स्तनपान गराउनुपर्दछ ।
यस वर्षको उदेश्य
– स्तनपान सुरक्षाको महत्व बारे मानिसहरुलाई सूचित गर्नु।
– स्तनपानलाई एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारीको रूपमा समर्थन र बहस गर्नु।
– कार्यक्रमलाई अधिक प्रभावकारि बनाउनको लागि हरेक व्यक्ति, संघ-संस्था तथा संगठनहरुलाई संलग्न गराउने।
ल्अभिि
– सार्वजनिक जनस्वास्थ्य सुधार गर्न स्तनपानको सुरक्षामा कार्य गर्ने समूह तयार गर्नु।
स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफनै आमाको दूध चुसाउनु स्तनपान हो। स्तनपानको दुई वटा मूलभूत मापदण्ड छन्-
१. प्रारम्भिक स्तनपान
प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु हो। यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्दछ। शिशुको शरीरमा ग्लुकोजको कमि हुनबाट बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।
२.पूर्ण स्तनपान
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।
यसरी ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ। पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।
दीर्घकालीन रुपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपानको भूमिका रहेको छ। शिशु ६ महिना पुग्ना साथ आमाको दूधका साथसाथै पोषिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ।
स्तनपान सम्बन्धी कानुनी व्यवस्था
– सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजिकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ।
-सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी संघ-संस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यलय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।
– हरेक कार्यलय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवस्था गरेको छ।
-स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रुपमा परिभाषित गरिएको छ।
-स्तनपानलाईरआमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खानारवस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरु।
– प्रसूति गृह वा अस्पतालहरुमा प्रारम्भिक स्तनपानलाई प्रवर्द्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नु पर्नेछ।